२०७६ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको बीएएलएलबी कार्यक्रममा मेरो प्रवेश शैक्षिक यात्राको अत्यन्तै महत्वपूर्ण मोड थियो । भविष्यप्रति उज्ज्वल आशा बोकी उत्साह, प्रतिबद्धता र इमानदारीका साथ म यो प्रतिष्ठित संस्थामा प्रवेश गरें । त्यो क्षण मेरो जीवनको गौरवपूर्ण सुरुवात थियो । तर सेमेस्टरहरू अघि बढ्दै जाँदा ती सपना र आशा क्रमशः निराशा र पीडामा परिणत हुन थाले । दशौं सेमेस्टरको नतिजा आउँदासम्म पनि प्राप्ताङ्क शारीरिक हुलियाका आधारमा निर्धारण गरिएको स्पष्ट देखिएपछि ती पीडाहरु अझ गहिरिएर थप कष्टपूर्ण र पीडादायी बने । यस्तो प्रवृत्ति निरन्तर दोहोरिनु लेक्चररहरुको पेशागत नैतिकताको उल्लंघन मात्र होइन, संस्थागत आचारसंहिता र कानुनी मापदण्डको पनि ठाडो उल्लङ्घन हो ।
बीएएलएलबी कार्यक्रमको सुरुवातदेखि नै मूल्यांकन प्रक्रियामा देखिएका अनुचित अभ्यासप्रति मलाई गम्भीर चिन्ता थियो । ती त्रुटि सच्याउन मैले लेखहरुमार्फत आवाज उठाउँदै, मूल्यांकनमा मेरो विरुद्ध समेत पक्षपात भएको स्पष्ट पारें । साथै, मेरो उत्तरपुस्तिकाको पुनर्योग र पुनःजाँचको औपचारिक प्रक्रिया पनि बारम्बार अपनाएँ । तर हरेक प्रयास परिणामविहीन भयो । अन्ततः यो तथ्य स्पष्ट भयो कि शैक्षिक सफलताको परिणाम मेरो व्यक्तिगत ज्ञान, प्रयास वा समर्पणको आधारमा होइन, संकाय सदस्यहरूसँगको व्यक्तिगत सम्बन्धको आधारमा निर्धारण गरिँदो रहेछ ।
यो अनुभव मेरो व्यक्तिगत पीडा मात्र होइन, शैक्षिक प्रणालीमा भएको संरचनागत समस्या र अन्यायको जीवित प्रमाण पनि हो । यो विश्वविद्यालयको बीएलएलबी कार्यक्रममा देखिएको यस्ता पक्षपातहरु अब लुकाइएको रहस्य पनि भएन । यो यथार्थ हो, जसले विद्यार्थीहरूको आत्मसम्मान र शैक्षिक भविष्यमा गहिरो प्रभाव पारेको छ । उत्तीर्ण वा विशेष अंक प्राप्त गर्न, क्याम्पसमा उपलब्ध अवसर तथा कार्यक्रमहरूमा सहभागिताका निर्णयहरूमा व्यक्तिगत सम्बन्ध हाबी भएको अनेकौं उदाहरण छन् ।
आफ्नो मर्यादाको सीमाभित्र रहन चाहने इमानदार विद्यार्थीहरू भने सदा उपेक्षित गरिन्छन्, जबकि चाकडी, राजनैतिक मान्यता वा निकटतालाई प्राथमिकता दिइन्छ । यस्तो प्रवृत्तिले संस्थाको मूल्यमान्यता, सिद्दान्त, उद्देश्य, नीति र संस्कृतिमाथि गम्भीर प्रश्न चिन्ह खडा गरिरहेको छ ।
यहाँको समस्या परीक्षातालिकाको मनोमानी हेरफेर, कुनै विशेष विद्यार्थीको अनुरोधमा परीक्षाको मिति समेत तय गरिनुदेखि विद्यार्थीहरुको मूल्यांकन प्रणालीमा गरिने भेदभावहरुमा मात्र सीमित छैन । संकाय सदस्यहरूमा यौन दुर्व्यवहारका आरोपहरूमा कानुनी छानबिन प्रारम्भ नहुनु पनि संस्थागत नैतिकताको क्षयको प्रतीक मानिएको छ । यस्ता घटनाले विद्यार्थीहरूमा डर, मौनता र असहायपनको गहिरो भावना जन्माइरहेको छ । यसैगरी परीक्षाका प्रश्नपत्रहरु चुहावट तथा ‘विशेष’ विद्यार्थीहरूलाई आन्तरिक पहुँचको आधारमा प्रदान गरिने अनुचित लाभले शिक्षा प्रणालीको पारदर्शिता र विश्वसनीयतालाई अझै कमजोर बनाइरहेको छ ।
एक जना संकाय सदस्यले ९ सेमेस्टरमा त खुलेर भनेका थिए- ‘९ र १० सेमेस्टरमा कोही फेल हुँदैन ।’ साँच्चै त्यस्तै भयो पनि । अब प्रश्न उठ्छ- के वास्तवमै यस्ता अभ्यासले कानुनी शिक्षा प्रणालीमा ज्ञानको उपलब्धि सुनिश्चित गरिरहेको छ ?
इमानदार र निष्ठावान विद्यार्थीहरूको मनोबल घट्ने, आत्मविश्वास कमजोर हुने र आर्जित शिक्षाको ज्ञानप्रतिको विश्वास डगमगाइरहेको छ । यी सबै घटना प्रशासनिक कमजोरी मात्र होइनन्, संस्थागत अपारदर्शिता र शिक्षा प्रणालीको नैतिकपतनका स्पष्ट देखिने संकेतहरु पनि हुन् । यस्ता चुनौतीहरुको बीचमा पनि मैले कहिल्यै आफ्ना मूल्य, मान्यता, आत्मसम्मान र निष्ठासँग सम्झौता गरिनँ । परिणामस्वरूप, मलाई सीमान्तकृत बनाइयो । विभिन्न अवसरहरूबाट वञ्चित गराइयो । तर म मौन कहिल्यै बस्न सकिनँ । करिब ६ वर्ष लामो यो यात्रा केवल मेरो कानुन पढ्ने र जान्ने अभिलाषा मात्र थिएन, न्यायको खोज, अन्यायको प्रतिरोध र संस्थागत सुधारका लागि उठाइएको एक सशक्त आवाज पनि थियो । जुन मेरो आत्मबलको प्रमाण हो, जसले मलाई सत्यका पक्षमा बोल्ने साहस सधैं प्रदान गरिरह्यो ।
हालसालै बिदाई समारोहका क्रममा घटेको एउटा घटना पनि विशेष रूपमा अविस्मरणीय र पीडादायी रह्यो । चलिआएको प्रवृत्तिअनुसार कार्यक्रम निश्चित व्यक्तिहलाई छनोट गरी सानो समूहमा आमन्त्रण गरी आयोजना गरिएको थियो । कार्यक्रममा एक वरिष्ठ अधिवक्ता समेत रहेका संकाय सदस्यले टिप्पणी गरे, ‘यदि तपाईं अरू केही गर्न सक्नुहुन्न भने तपाईं कानुनको शिक्षक बन्न सक्नुहुन्छ ।’ यस्तो टिप्पणी केवल असंवेदनशील मात्र थिएन, यसले शिक्षण पेशाप्रति सार्वजनिक अपमानको भाव व्यक्त गर्दै शिक्षण पेशालाई एक अन्तिम विकल्पको रूपमा प्रस्तुत गर्यो र कक्षाकोठामा उभिने उनीहरुमाथि नै प्रश्न तेर्स्यायो । जब तिनै शिक्षकहरू भविष्यका दक्ष कानुन व्यवसायी निर्माण गर्ने जिम्मामा हुन्छन् भने त्यस्तो शैक्षिक प्रणालीको आधारमाथि नै प्रश्न उठाउन मिल्ने कि नमिल्ने ?
शैक्षिक प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्ने ठाउँमा अनियमितता र हेरफेरको संस्कृति मौलाएको, परीक्षा केन्द्र चयनमा विशेष पहुँच भएका विद्यार्थीहरूले आफूलाई अनुकूल र चिनजान भएको केन्द्रमा परिवर्तन गरेको, मूटकोर्ट प्रतियोगिताहरूमा समूह गठनदेखि छनोट र विजेता घोषणासम्ममा रणनीतिक रूपमा पूर्वनिर्धारित हुनेदेखि निष्पक्ष र समान अवसरको सिद्धान्त समेत उपेक्षित भएको लगायत क्रियाकलापले मेरिटको सम्मानमाथि नै प्रश्न उठायो । जसकारण सम्भावना बोकेका प्रतिभाशाली विद्यार्थीलाई लक्षित गरी उपेक्षित गराइने वातावरणले शिक्षाको मूल आत्मा, निष्पक्षता, समानता र न्यायमा गहिरो आघात पुर्यायो । वास्तवमा शिक्षा केवल जानकारी दिने प्रक्रिया होइन, यही माध्यमबाट न्याय, नैतिकता र मूल्यहरू निर्माण गरिन्छ । तर जब प्रतिस्पर्धा नै पूर्वनिर्धारित हुन्छ, तब विद्यार्थीहरुको विश्वास मात्र होइन, सम्पूर्ण संस्थागत मर्यादा नै डगमगाउँछ ।
हरेक विषयमा कुल प्राप्ताङ्कको ४० प्रतिशत हिस्सा आन्तरिक मूल्याङ्कनबाट तय हुने हुँदा यो प्रणाली शिक्षण संकायले मनोमानी गर्ने प्रमुख औजार बनेको देखिन्छ । सैद्धान्तिक रूपमा विद्यार्थीको उपस्थितिको नियमितता, अनुशासन, शैक्षिक प्रस्तुति, गृहकार्य लगायतका मापदण्डलाई मूल्याङ्कनको आधार मानिनुपर्छ । तर व्यवहारमा यी मापदण्डभन्दा पनि विद्यार्थीको व्यक्तिगत झुकाव, चाकडी, संकाय सदस्यहरूसँगको नजिकको सम्बन्ध वा मिल्दो राजनीतिक विचारधाराजस्ता पक्षले प्रभाव पार्न थालेका छन् ।
विद्यार्थीहरूले आफ्नो आन्तरिक मूल्याङ्कन तथा परीक्षामा प्राप्त अंकबारे जानकारी पाउन सक्दैनन् । यस प्रकारको अवस्थाले कानुनी शिक्षाको प्रमाणपत्रलाई एउटा ‘व्यापारिक वस्तु’जस्तो बनाउँदै लगेको छ, जसमा प्राप्त ज्ञान, तर्क र विवेचनाभन्दा बढी सम्बन्ध र पहुँचको प्रभाव हुन्छ । स्मरण रहोस्, केहीलाई छोडेर मूल्यांकनकर्ता, कार्यरत लेक्चरर तथा संकाय सदस्यहरूको योग्यता भने आफैंमा चिन्ताजनक छ । उनीहरु सामान्य अंग्रेजीमा संवाद गर्न पनि सक्षम छैनन् । पाठ्यक्रममा शिक्षण सिकाइ अंग्रेजी माध्यमबाट हुने उल्लेख गरिएको अवस्थामा उनीहरूलाई प्रश्नपत्र निर्माण, मूल्याङ्कन, परीक्षा सञ्चालन र शिक्षण जस्ता जिम्मेवार कार्यमा संलग्न गरिनु, पाँचवर्षे कानुनी शिक्षा प्रणालीमै गम्भीर हस्तक्षेप र लापरबाही हो ।
तर यो अवस्था केवल व्यक्तिगत अक्षमताको परिणाम मात्र होइन, संस्थागत संरचना, प्रणालीगत त्रुटि र पदपूजाको गहिरो प्रदर्शन समेत हो । यथार्थमा ती संकाय सदस्यहरू देशकै प्रतिष्ठित कानुन शिक्षण संस्थाहरूमा आमन्त्रण गरिएमा त्यहाँ उनीहरु एक घण्टा पनि टिक्न असमर्थ हुने स्थितिमा छन् । यहाँ भने उनीहरूको प्रभाव यति बलियो छ कि सामान्य परिवर्तनको आवाज उठाउनु नै कठिन देखिन्छ । यस प्रभावको मूल कारण बलियो राजनीतिक सम्बन्ध, स्थानीय प्रभाव र सम्बन्धगत सञ्जाल हो । यसले कानुन शिक्षाको मूल मर्म, ज्ञान, न्याय, सक्षमता र सशक्तीकरणमाथि प्रत्यक्ष हमला गर्छ । योग्य, निडर र सक्षम विद्यार्थीहरूको उत्पादनमा बाधा पुर्याउँछ, जसले दीर्घकालीन रूपमा समाजको न्यायिक संरचना र जनविश्वासमा समेत नकारात्मक असर पार्ने निश्चित छ ।
बीएएलएलबी कार्यक्रमको पाँचवर्षे अवधि प्रशासनिक अव्यवस्था र आन्तरिक राजनीतिको कारण करिब ६ वर्षमा पुग्यो । बार परीक्षाको सूचना जारी नभएको भए यो ६ वर्ष नाघ्थ्यो । बार परीक्षाको फारम बुझाउने सूचनाले अन्तिम सेमेस्टर अव्यवस्थित मात्र होइन, परीक्षा मूल्याङ्कनमा मनमौजी चल्यो । जहाँ शतप्रतिशत विदर्यार्थी उत्तीर्ण मात्र होइन, संकाय सदस्यहरुको पहिल्यैदेखिको पूर्वाग्रहले मजस्ता विद्यार्थीमाथि थप प्रतिशोध साँधियो । पाँच दिनमा थेसिस सक्नुपर्ने दबाब, सूचना र कार्यक्रमको अनौपचारिकता, अनि कृपावाद र राजनीतिकरण शैक्षिक यात्राले मानसिक रूपमा मलाई पीडादायी बनायो । मेरो क्षमताको उपेक्षा, अनुचित मूल्याङ्कन र तिरस्कारले गहिरो चोट पुर्यायो । यो कानुनी शैक्षिक यात्राको दौरानमा कहिलेकाहीं आफ्नै योग्यतामा पनि शंका उठाएँ । तर वस्तुनिष्ठ मूल्याङ्कनले देखायो- समस्या ममा होइन, समस्या केही शिक्षकमण्डलीको नियत, मनोवृत्ति र समग्र शैक्षिक संरचना र संस्कृतिमा थियो ।
एक विद्यार्थीको रुपमा यहाँको शिक्षण र मूल्यांकन प्रक्रिया विरुद्ध तीखो टिप्पणी गर्दै आफ्नो अडानलाई कायम गर्दै मैले बितेका वर्षहरुमा सक्दो मौन संघर्ष गरिरहें । कुनै पनि अवस्थामा आत्मसमर्पण गरिनँ । तर म निरन्तर सेमेस्टरैपिच्छे संकाय सदस्यहरुको मौन अन्यायको सिकार भइरहें ।
यहाँको शैक्षिक वातावरण राजनीतिक हस्तक्षेप, नातावाद र चाकरीले गहिरो रूपमा दूषित भएको छ । निष्पक्ष मूल्याङ्कनको अभावले विद्यार्थीको भविष्य मात्र हैन, कानुनी शिक्षा प्रणाली नै संकटमा छ । सुधारको सोच राख्ने नेतृत्व (डीन) यहाँ टिक्न सक्दैन । कमजोर र प्रभावहीन नेतृत्वलाई मात्र स्वीकार गरिन्छ । सक्षम शिक्षकहरू पनि व्यवस्थासँग सम्झौता गर्दै व्यक्तिगत लाभ लिइरहेका छन् । तर एक विद्यार्थीको रुपमा यहाँको शिक्षण र मूल्यांकन प्रक्रिया विरुद्ध तीखो टिप्पणी गर्दै आफ्नो अडानलाई कायम गर्दै मैले बितेका वर्षहरुमा सक्दो मौन संघर्ष गरिरहें । कुनै पनि अवस्थामा आत्मसमर्पण गरिनँ । तर म निरन्तर सेमेस्टरैपिच्छे संकाय सदस्यहरुको मौन अन्यायको सिकार भइरहें ।
मेरो अहिले प्राप्त ग्रेड वा डिग्री औपचारिक उपलब्धि मात्र होइन, प्रत्येक सेमेस्टरमा सामना गर्नुपरेको पूर्वाग्रहका बाबजुद पनि देखाएको ज्ञान, लेखन कौशल र अटुट संकल्पको प्रमाण हो । मेरो असली परीक्षा किताबमा होइन, त्यो विषाक्त वातावरणमा बाँच्ने संघर्षमा थियो, जहाँ हरेक पाइलामा अवरोध थियो र मनोबल कमजोर पार्ने प्रयास भइरहन्थ्यो । करिब ६ वर्षको यो यात्रा मेरो व्यक्तिगत पीडाको कथा मात्रै होइन, कानुनी शिक्षामा गहिरो रूपले जरा गाडेको संरचनात्मक संकटको प्रतिबिम्ब हो ।
यहाँ नातावाद, कृपावाद, राजनीति र पक्षपात हाबी छ । यस्तो भयो भने सतही भव्यता जस्तो भए पनि कुनै पनि शैक्षिक संस्थाले आफ्नै आत्मा र प्रतिष्ठा गुमाउँछ । उच्च आशा र परिश्रमका साथ प्रवेश गरेका विद्यार्थीहरू अपमान, अन्याय र दबाब झेल्न बाध्य हुन्छन् । शिक्षण संस्थाको संरचना नै खोक्रो, निर्जीव र दिशाहीन बन्न पुग्छ । यस्तो गम्भीर संकटमा विश्वविद्यालय नेतृत्वको मौनता अस्वीकार्य छ । तुरुन्त सुधार कठिन होला, तर स्पष्ट निर्णय र दृढ कदम अनिवार्य छ ।
दुर्भाग्य, अहिलेको अवस्था यथास्थितिमा रमाउने, राजनीतिक चाकडी र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको देखिन्छ । कार्यक्रमको नेतृत्व गरिरहेका वर्तमान डीनको निष्क्रियता नै आजको संस्थागत नाजुकताको प्रतीक बनेको छ । क्याम्पस प्रमुख तथा बीएएलएलबीका वर्तमान निर्देशकको यसमा ध्यान जानु अपरिहार्य छ ।
विज्ञान र प्रविधि च्याटजीपीटी प्रयोग गरेर जस्ताको त्यस्तै पढाइन्छ । कुनै मौलिकता र नवीनता छैन । यसले देखाउँछ उनीहरू ज्ञानको सिर्जनामा होइन, केवल सूचना प्रदान गर्ने भूमिकामा सीमित छन् । अतिरिक्त, आन्तरिक मूल्यांकन प्रक्रिया पनि अघिल्ला सेमेस्टरहरुको जस्तै छ। कुनै विशेष सुधार या नवीनता देखिँदैन । अझ १० सेमेस्टरमा त लापरबाहीको सीमा नै नाघ्यो । एक जना संकाय सदस्यले ९ सेमेस्टरमा त खुलेर भनेका थिए- ‘९ र १० सेमेस्टरमा कोही फेल हुँदैन ।’ साँच्चै त्यस्तै भयो पनि । अब प्रश्न उठ्छ- के वास्तवमै यस्ता अभ्यासले कानुनी शिक्षा प्रणालीमा ज्ञानको उपलब्धि सुनिश्चित गरिरहेको छ ? के यो केवल प्रमाणपत्र प्राप्त गर्ने औपचारिक माध्यम मात्र बनिरहेको छ ? यदि सबै देखावटी र आत्मरतिमा डुब्ने र बाहिरी प्रचारमा मात्र रमाउने हो भने यो पाँचवर्षे बीएएलएलबी कार्यक्रममा सुधारको सम्भावना अत्यन्त क्षीण देखिन्छ ।
यसरी विभिन्न माध्यम, स्रोत र प्रक्रियामार्फत आफ्ना नाम इच्छित तथा उच्च ग्रेड, सेमेस्टर टपर वा स्वर्ण पदकको सूचीमा लेखाउन सफल विद्यार्थीहरूले पनि के आत्मचिन्तन गर्न आवश्यक छ भने आफूले यो विश्वविद्यालय बाहिरका जीवनका गहन र बहुआयामिक परीक्षामा सोही स्तरको उत्कृष्टता कायम राख्न सकिन्छ त ? यो प्रश्नले आगामी दिनमा सम्बन्धित व्यक्तिलाई पछ्याइरहने छ । अनि यस कठोर परिवेशमा संघर्षरत हरेक विद्यार्थीप्रति मेरो आग्रह छ- तपाईंहरुको आवाज सत्य र तथ्यको आधारमा बुलन्द बनाउनुहोस् । हामी कानुन पढ्ने सबैलाई थाहा छ कि अन्याय गर्ने भन्दा अन्याय सहने दोषी हुन्छ ।
